
कपिलवस्तु १ बैशाख २०८२ – कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहामगरको शिकार खेल्ने क्रममा साथीको बन्दूकको गोली लागेर मृत्यु भएको छ।
आइतबार अर्घाखाँची र कपिलवस्तु सीमावर्ती बुद्ध यशोधरा सामुदायिक वनमा शिकार खेल्न गएका समुन्द्रलाई गाडीको आवाज सुनेपछि भाग्ने क्रममा साथी राम थारुको बन्दूक पड्किएर गोली लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ।
गम्भीर घाइते समुन्द्रलाई साथीहरूले भैरहवा मेडिकल कलेज लगेको भए पनि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो। सुरुमा साथीहरूले झूठो बयान दिए पनि प्रहरीले दुई दिनको अनुसन्धानपछि सत्यतथ्य पत्ता लगाएको हो।

प्रहरीले घटनामा संलग्न रामबहादुर थारु, कालु भन्ने राम थारु र प्रवेश थारुलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक लोड र एक फायर गरिएको दुई नाल भरुवा बन्दूक बरामद गरिएको छ।
प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान र अवैध हातहतियारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ। मृतकको सोमबार बिहान अन्त्येष्टि गरिएको छ।
