
रुपन्देही — लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन्। सोमबार दिउँसो करिब १२ः३० बजे स्थानीय बालकहरू पौडी खेल्ने क्रममा नदीमा हराएको पुष्टि भएको हो।
बेपत्ता हुनेमध्ये १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन रहेका छन्। तीनै जना अर्दौलीकै स्थानीय बासिन्दा हुन्। घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट खोजी कार्यका लागि विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
“विपद् व्यवस्थापन तालिम प्राप्त प्रहरी टोली निरीक्षकको नेतृत्वमा घटनास्थलमा पुगिसकेको छ,” थापाले भने, “बालकहरूको खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।”

हालसम्म बालकहरूको अवस्था खुल्न सकेको छैन। नदीको वहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। स्थानीय बासिन्दा, प्रहरी र सशस्त्रको संयुक्त टोली घटनास्थलमा खटिएको छ भने डुंगा तथा गोताखोरको सहयोगमा खोजी अभियान जारी राखिएको छ।
घटनाले स्थानीयमा त्रास र चिन्ता फैलिएको छ। अभिभावक तथा आफन्तजन नदी किनारमै उपस्थित भई बालकहरूको कुशलताको प्रतीक्षा गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
