
तुलसीपुर उपमहानगरपालिका–१७ मोतीपुरमा एक व्यक्तिले घरमै बन्दुक प्रयोग गरी आफैंलाई गोली हानेका छन्। गोली लागेर रेडक्रस दाङका पूर्वअध्यक्ष नारायण आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले पुष्टि गरेको छ।
प्रहरीका अनुसार आचार्यले लाइसेन्स प्राप्त बन्दुकबाट आफैंलाई गोली हानेका हुन्। “लाइसेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,” प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जनार्दन जीसीले जानकारी दिए, “गोली लागेर घटनास्थलमै उनको मृत्यु भएको हो।”
प्रहरीले घटनाको जानकारी दिउँसो साढे ३ बजे पाएको थियो। त्यसलगत्तै डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

हालसम्मको प्रारम्भिक अनुसन्धानमा आचार्यले आत्महत्या गरेको आशंका गरिएको भए पनि घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
