
काठमाडौँ, १७ वैशाख — प्रतिनिधिसभाले ‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। मङ्गलबारको संसद् बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बहुमत सांसदले समर्थन गरेका छन्।
सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिंदै मन्त्री पौडेलले भन्सार विन्दुहरूमा देखिएको बेथिति अन्त्य गर्न र भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्नका लागि विधेयक ल्याइएको स्पष्ट पारे।
“भन्सार नाकामा राजश्व चुहावट, अनियमितता नहोस् र व्यापारीहरू पीडित नबनून् भन्ने मुख्य उद्देश्यका साथ विधेयक ल्याइएको हो,” मन्त्री पौडेलले भने। उनले विधेयकलाई समृद्ध बनाउन सुझाव दिने सबै सांसदप्रति आभार पनि व्यक्त गरे।
उनका अनुसार, विधेयक कानुनको रूपमा कार्यान्वयनमा आएपछि राजश्व चुहावटमा कमी आउने र भन्सार व्यापार अझ सहज तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

“भन्सारलाई उपकरण र स्रोतसाधनको दृष्टिकोणले पनि प्रभावकारी बनाउन सुझावहरू आएका छन्। म सबै माननीयज्यूहरूलाई ती बहुमूल्य सुझावका लागि धन्यवाद दिन चाहन्छु,” पौडेलले बैठकमा भने।
भन्सार सुधारका नाममा ल्याइएको यो विधेयक कार्यान्वयनमा आएपछि व्यापारीहरूका समस्या समाधान हुँदै आर्थिक पारदर्शिता र राजश्व वृद्धि हुने अपेक्षा गरिएको छ।
