
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल बजेटको ४६.४६ प्रतिशत खर्च गरेको छ। प्रदेशको कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार, चालु खर्चतर्फ ४८.११ प्रतिशत र पुँजीगत खर्चतर्फ ४५.५० प्रतिशत खर्च भएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले कुल ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको थियो। यसमध्ये वैशाख मसान्तसम्म १८ अर्ब १० करोड ५७ लाख रुपैयाँ खर्च भइसकेको छ।
पुँजीगत शीर्षकअन्तर्गत २४ अर्ब ५८ करोड ५९ लाखको बजेटमध्ये ११ अर्ब १८ करोड ५९ लाख खर्च भएको छ। चालु खर्चतर्फ १४ अर्ब ३८ करोड ४१ लाखको विनियोजनमध्ये ६ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ खर्च भएको प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको यही अवधिमा लुम्बिनी प्रदेशको कुल खर्च ४०.२३ प्रतिशतमा सीमित रहेको थियो। त्यसमा पुँजीगत खर्च ४०.२१ प्रतिशत र चालु खर्च ४०.२० प्रतिशत मात्र भएको थियो।

कार्यालय प्रमुख दीपक ज्ञवालीका अनुसार, गत वर्षको तुलनामा चालु वर्षको खर्चमा करिब ६ प्रतिशतको वृद्धि देखिएको छ। उनले वर्षको अन्त्यसम्म बजेट खर्च थप बढ्ने अपेक्षा गर्न सकिने बताए।
“अहिलेसम्मको प्रगति उत्साहजनक छ,” ज्ञवालीले भने, “सरकारसँग अझै केही महिना काम गर्ने समय बाँकी रहेकोले खर्चको आँकडा अझै माथि जान सक्छ।”
