
सरकारसँग भएको ९ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ। संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बुझाएपछि महासंघले प्रतिवेदन शिक्षक–कर्मचारी विरोधी भएको आरोप लगाएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत प्रतिवेदन अस्वीकार्य भएको बताउँदै अस्थायी, करार, राहत, प्राविधिक, विशेष शिक्षालगायतका शिक्षकको माग बेवास्ता गरिएको र सरुवा तथा बढुवाको व्यवस्था समेत सहमति विपरीत भएको गुनासो गरेका छन्।
महासंघका अनुसार विगतमा भएका चारपटकको सम्झौता लत्याइएको छ। उपसमितिको प्रतिवेदन शिक्षकमारा भएको र विभागीय कारबाही, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या समेत सम्बोधन नभएको भन्दै महासंघ आक्रोशित बनेको छ।

सरकारले आगामी असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको भए पनि शिक्षक हित विपरीत विधेयक आए कडा आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ।
