
काठमाडौं — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय देखिएको छ। यसका कारण देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। अन्य भूभागका एक-दुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
तराई क्षेत्र, विशेषतः कोशी र मधेस प्रदेशका केही भूभागमा हुरीबतास चल्ने सम्भावना पनि रहेको महाशाखाले चेतावनी दिएको छ।
रातिको अवस्थामा पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागहरूमा मौसम सामान्यदेखि सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा पनि उक्त प्रदेशहरूका केही स्थानहरूमा र मधेस प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्रमा एक-दुई स्थानमा हिमपातको सम्भावना कायमै रहेको छ।
महाशाखाले सम्भावित मौसमीय घटनाहरूलाई मध्यनजर गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
