
कपिलवस्तु, जेठ २० –
कम नापतौल पाइएपछि कपिलवस्तु नगरपालिका भित्र सञ्चालित दुईवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ। सिलबन्दीमा परेका पम्पहरू उमा ट्रेडिङ र ओझा पेट्रोलियम हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) पदम लामिछानेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र गुणस्तर तथा नापतौल कार्यालय बुटवलको संयुक्त टोलीले अनुगमनको क्रममा ती पम्पहरूमा कम नापतौल भएको पुष्टि भएपछि तत्काल सिलबन्दी गरिएको हो।
तीन दिनभित्र बुटवल उपस्थित हुन निर्देशन
अनुगमन टोलीले पम्प सञ्चालकहरूलाई तीन दिनभित्र बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालयमा उपस्थित भई स्पष्टिकरण दिन निर्देशन दिएको छ।
चार पम्पको निरीक्षण, दुईमा अनियमितता
टोलीले कपिलवस्तु नगरपालिका क्षेत्रभित्रका चारवटा पेट्रोल पम्पको निरीक्षण गरेको थियो। तीमध्ये दुईवटामा मात्र नापतौलमा गडबडी भेटिएको हो। अन्य दुई पम्पमा भने आवश्यक मापदण्ड पुरा भएको जनाइएको छ।

सहायक प्रजिअ लामिछानेका अनुसार उपभोक्तालाई ठग्ने कार्यमा संलग्न जोसुकै भए पनि कानुनी कारबाही गरिनेछ। “उपभोक्ताको हितविपरीत जाने कुनै पनि गतिविधि सह्य हुने छैन,” उनले भने।
निरन्तर अनुगमनको चेतावनी
जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा यस्ता अनुगमनलाई अझ सशक्त बनाउने र उपभोक्तालाई ठग्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। उपभोक्ताहरूलाई पनि पेट्रोलियम पदार्थ किन्दा बिल लिन, नापतौल चेक गर्न र गुनासो भएमा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरिएको छ।
यो तस्वीर कृत्रिम बुद्धिमत्ता (AI) को सहायताबाट सिर्जना गरिएको हो र वास्तविक घटना वा स्थानलाई अनिवार्य रूपमा चित्रण नगर्न पनि सक्छ। यो समाचारको सन्दर्भ प्रस्तुत गर्न प्रयोग गरिएको भए पनि केही दृश्य, व्यक्ति, सवारीसाधन वा वातावरण काल्पनिक वा प्रतीकात्मक हुन सक्छन्।
