
कपिलवस्तु, जेठ २० –
“पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने मूल नारासहित कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा गरिएको छ। राष्ट्रिय पूर्ण खोप सुनिश्चित निर्देशन २०७१ को मापदण्डअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दै २०८२ सालमा कपिलवस्तु नगरपालिका नेपाल सरकारको पूर्ण खोप पालिकाको मापदण्डमा आधिकारिक रूपमा समावेश भएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका अध्यक्ष बाबुराम आचार्य थिए भने, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदीप पौडेलले पालिकाको तर्फबाट पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा गरेका थिए।
११ प्रकारका रोगविरुद्ध खोप सुनिश्चित
कपिलवस्तु स्वास्थ्य शाखाका संयोजक उमेश गुप्ताका अनुसार १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई निर्धारित १५ महिनाभित्र अनिवार्यरूपमा ११ प्रकारका रोगविरुद्धको खोप सुनिश्चित गरिएको छ। ती रोगहरूमा दादुरा, पोलियो, टीबी, झाडापखाला, जण्डिस, रोटाभाइरस, निमोनिया, जापनिज इन्सेफलाइटिस (JE), एचपिभी, रुवेला लगायतका रोग समावेश छन्।
स्थानीयको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीको प्रयासले सफलता

स्वास्थ्य संयोजक गुप्ताले बताए अनुसार पालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरू, स्वयंसेविका, अभिभावक, विद्यालय, समुदाय र स्वास्थ्यकर्मीहरूको संयुक्त प्रयासले यो उपलब्धि सम्भव भएको हो।
“यो केवल स्वास्थ्यको विषय मात्र होइन, सम्पूर्ण बालबालिकाको सुरक्षित भविष्यको ग्यारेन्टी हो,” गुप्ताले भने।
दिगोपनको प्रतिबद्धता
खोप सुनिश्चिततासँगै नगरपालिका र स्वास्थ्य शाखाले दिगोपन कायम राख्न निरन्तर निगरानी, अभिलेख राख्ने र पुनः अनुगमन गर्ने कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा स्थानीय प्रतिनिधिहरू, अभिभावक, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा घोषणा दस्तावेज सार्वजनिक गरिनुका साथै सफल खोप अभियन्ताहरूलाई सम्मान समेत गरिएको थियो।
