
शहबाज खान , कपिलवस्तु,
संघीय सांसद माननीय सिराज अहमद फारूकीद्वारा २०८१/८२ को संघीय बजेटमा सांसदीय विकास कोषमार्फत कृष्णनगरका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गराएकोप्रति कृतज्ञता व्यक्त गर्दै नईमिया नेपालले विशेष धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ।
नईमिया नेपाल समितिको आयोजनामा मंगलवार कृष्णनगर नगरपालिका–२ स्थित संस्थाको कार्यालय प्रांगणमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष हाजी अकिल मियाँले सांसद फारूकीलाई खादामाला अर्पण गर्दै स्वागत तथा आभार व्यक्त गरे।
कार्यक्रममा नईमिया नेपालका संरक्षक तथा निवर्तमान अध्यक्ष हाजी अब्दुल कलाम खाँ, प्रस्तावित एम्बेसडर मेराज खान, मौलाना जहीर नेपाली, अब्दुल रहमान हलवाई, कार्यक्रम सञ्चालक अकरम पठान लगायत स्थानीय अगुवा, पदाधिकारी तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै अध्यक्ष मियाँले सांसद फारूकीप्रति धन्यवाद ज्ञापन गर्दै उक्त बजेटले संस्थागत विकास, स्थानीय पूर्वाधार सुदृढीकरण तथा सामुदायिक हितमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले बजेटको पारदर्शी र प्रभावकारी सदुपयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
सांसद फारूकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित विशेष कार्यक्रमहरू ल्याई कृष्णनगर क्षेत्रलाई नमुना क्षेत्रको रूपमा विकास गर्ने अठोट व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
