
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको मात्रै भइसकेको आरोप लगाएका छन्।
शनिवार, संविधानविद् चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै अध्यक्ष यादवले यस्तो प्रणालीले देशको समग्र विकास र राजनीतिक स्थिरतामा बाधा पुर्याएको बताए।

उनका अनुसार, प्रधानमन्त्री र मन्त्रीहरूले स्रोत-साधन आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गर्दा अन्य क्षेत्रहरू उपेक्षित हुने गरेका छन्। यसले कतिपय सांसदहरूलाई अर्को चुनावमा जनताबाट समर्थन गुमाउनुपर्ने अवस्था सिर्जना गरेको उनले उल्लेख गरे।
राजनीतिक स्थिरता विकासको आधार भएको बताउँदै यादवले भने, “पूरै देशको प्रधानमन्त्री र सांसद हुने स्थिति नबनाएसम्म स्थिरता सम्भव छैन।” यसका लागि वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न आवश्यक रहेको उनको धारणा छ।
