शिवराज नगरपालिकाको १ अर्ब ३४ करोडको बजेट सार्वजनिक, शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा

0
Quantam abroad studies

– SM News, कपिलवस्तु, असार १०

शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ३४ करोड ७८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अघिल्लो वर्षको तुलनामा करिब १० करोड रुपैयाँले बढाइएको यो बजेट नगरको आवश्यकता, विकासको माग र जनताको अपेक्षालाई सम्बोधन गर्न ल्याइएको जनाइएको छ।

१७औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख शिवकुमारी थारुले नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै आगामी वर्षको नीति विकासमुखी र समावेशी हुने उल्लेख गर्नुभयो। उहाँले प्रस्तुत गर्नुभएको बजेटले शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, प्रशासन व्यवस्थापनदेखि स्थानीय योजना कार्यान्वयनसम्मका विभिन्न क्षेत्र समेटेको छ।

नगरपालिकाले यस वर्ष पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै शिक्षा, युवा तथा खेलकुदका लागि ८ करोड ५० लाख रुपैयाँ छुट्याएको छ। निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यो बजेटले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय तहका वडाहरूले प्रस्तुत गरेका योजना कार्यान्वयनका लागि १० करोड ५० लाख, स्वास्थ्य सेवाका लागि ४ करोड, कार्यालय सञ्चालन तथा प्रशासन व्यवस्थापनतर्फ १२ करोड ७५ लाख तथा कृषि क्षेत्रमा ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

sahani furniture udyog

नगर प्रमुख अजय थापाले नगरसभामा अघिल्लो वर्ष भएका कार्यहरूको विस्तृत विवरण प्रस्तुत गर्दै चालु वर्षको बजेटलाई थप परिणाममुखी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता र पारदर्शिता कायम राख्दै सबै योजनाहरूलाई गुणस्तरीयरूपमा सम्पन्न गरिने विश्वास दिलाउनुभयो।

गत वर्ष शिवराज नगरपालिकाले १ अर्ब २४ करोड ७९ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको थियो। यो वर्ष बजेट वृद्धि हुनु नगरको सेवा विस्तार, पूर्वाधार सुधार तथा दीर्घकालीन योजनाको मागसँग जोडिएको बताइएको छ।

नगरसभामा नगर कार्यपालिका सदस्य, वडाध्यक्षहरू, कर्मचारी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। नीति तथा कार्यक्रम पारित भएसँगै नगरपालिकाले नयाँ आर्थिक वर्षका कार्यहरू छिट्टै कार्यान्वयनमा लैजाने तयारी गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.