
✍ कपिलवस्तु | असार १७
नेपालमा समलिंगी विवाहलाई कानुनी मान्यता दिने प्रक्रियाले गति लिँदै जाँदा अर्घाखाँचीमा पहिलोपटक एक समलिंगी जोडीले विवाह दर्ता गराएका छन्।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी २३ वर्षीया फुलमायाँ (नाम परिवर्तन) र कपिलवस्तु नगरपालिका निवासी २० वर्षीया निरमायाँ (नाम परिवर्तन) ले २०७९ सालदेखि प्रेम सम्बन्धमा रहेका थिए। उनीहरूले २०७९ जेठ १८ गते विवाह गरेका थिए। विवाहपछि सम्बन्धित कागजातसहित वडा कार्यालय पुगेका उनीहरूको विवाह विवाह प्रमाणपत्रमार्फत कानुनी रूपमा दर्ता गरिएको हो।
वडा सचिवका अनुसार, “सुरुमा केही अन्यौल थियो, तर सम्बन्धित निकायसँग परामर्शपछि प्रमाणपत्र जारी गर्यौं।” दर्ता कागजातमा फुलमायाँलाई ‘दुलाहा’ र निरमायाँलाई ‘दुलही’ उल्लेख गरिएको छ।
पछिल्ला वर्षहरूमा समलिंगी विवाहलाई अस्थायी रूपमा कानुनी मान्यता दिइँदै आएको छ। स्थानीय तहहरूले यसका लागि ‘अस्थायी रजिस्टर’ अलग राखेर विवाह दर्ता गर्न थालेका छन्।

मानव अधिकारकर्मीहरूका अनुसार यस्तो घटनाले समलिंगी समुदायमा आत्मविश्वास बढाउनुका साथै समाजमा लैङ्गिक समानताको सन्देश दिनेछ।
विवाहित जोडीले आफ्नो परिचय गोप्य राख्न अनुरोध गरेकाले समाचारमा नाम परिवर्तन गरिएको छ।
