
असार २१ ।
असार सकिँदै गर्दा पनि सिरहाका अधिकांश खेतहरूमा अझै हरियाली देखिएको छैन । समयमै वर्षा नहुनु र आवश्यक रासायनिक मलको अभावले गर्दा धान रोपाइँमा उल्लेखनीय ढिलाइ भएको छ । खेत जोतेर बीउ तयार पारिसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् ।
यद्यपि देशका अन्य भागमा असारसँगै मनसुन सक्रिय देखिएको भए पनि मधेसका जिल्लाहरू, विशेषतः सिरहामा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ । लहान नगरपालिका–२३ का किसान रामकुमार यादव भन्छन्, “समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत तयार छ, बीउ पनि छ, तर न पानी पर्यो, न मल पाइयो ।”
उनका अनुसार, असारको सुरूवातदेखि नै वर्षा कमजोर रहेकाले खेत सुक्खा छन् । बोरिङ जस्ता वैकल्पिक सिँचाइ सुविधा नहुँदा वर्षातकै भर पर्नुपर्ने बाध्यता अझै उस्तै छ । “अहिले रोपाइँको संवेदनशील समय हो । तर बजारमा डिएपी मल छैन । मल नहुँदा बीउ छर्ने समयमा आवश्यक पोषण दिन सकिँदैन । यसले धानको उत्पादनमा सीधा असर गर्छ,” उनले दुःखेसो गरे ।
यस समस्याले सिरहाका मात्र नभई मधेसका धेरै जिल्लाका किसानहरूलाई प्रभावित बनाएको छ । दशकौंदेखि सिँचाइको भरपर्दो संरचना बन्न नसक्दा किसान आज पनि प्रकृतिमै भर पर्न बाध्य छन् ।

कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर क्षेत्रफल धान खेतीयोग्य छ । तर हालसम्म जम्मा १८ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको छ । “यदि चाँडै वर्षा नभए ठूलो हिस्सा बाँझिन सक्छ,” उनले भने ।
यस वर्षको रोपाइँ अवस्था हेर्दा सरकारको मल आपूर्ति प्रणाली र सिँचाइ पूर्वाधारप्रतिको निर्भरता र कमजोरी स्पष्ट देखिन्छ । अब किसानको आशा पानी र मलको समयमै उपलब्धतामै अडिएको छ ।
सिरहालगायत मधेसका किसानहरूको खेतीपाती आज पनि मौसम र बजारमा उपलब्ध साधन–स्रोतमा भर परिरहेको अवस्था बदल्न दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता झनै गहिरिँदै गएको छ ।
