
कपिलवस्तु, असार २१।
कपिलवस्तुका मुख्य शहरी क्षेत्रमा पछिल्लो समय फेरि छाडा चौपायाको संख्या तीव्र रूपमा बढ्न थालेको छ । वर्षा सुरु भएसँगै गाई, गोरु, खच्चर, घोडा जस्ता चौपाया खुलेआम सडक र चोकहरूमा घुम्न थालेका छन् ।
छाडा चौपायाले न केवल सहरको सौन्दर्य र सरसफाइमा असर पुर्याइरहेका छन्, तर सडक दुर्घटनाको जोखिमसमेत बढाइरहेका छन् । बिहान–साँझ सवारी चाप बढी हुने समयमा यिनीहरू सडकमा हिँड्दा मोटरसाइकल, स्कुटर र अन्य सवारी साधन चलाउनुपर्नेहरूलाई ठूलो असहजता हुने गरेको छ ।
वर्षा सुरु भएपछि गाउँघरका चौपाया खेतमा काम नलाग्ने भएपछि मालिकहरूले खुला रूपमा छाड्ने गरेका छन् । घर वरिपरि बाँध्ने स्थानको अभाव र निगरानी प्रणालीको कमजोरीले गर्दा चौपाया बजार छिर्ने क्रम बढेको हो । बजारका सडक, चोक र गल्लीहरूमा चौपाया झुन्डमा देखिन थालेका छन् ।
सहरमा यिनीहरू दिनभरि डुलिरहँदा पसल अगाडि दिसा गर्ने, फोहोर गर्ने जस्ता गतिविधिले स्थानीयको दैनन्दिन जीवन र व्यवसायमा असर पुर्याएको छ । कतिपय पसलेहरू ग्राहक पसल आउँदा चौपायाको दुर्गन्धले फर्कने गरेको गुनासो गर्छन् ।
छाडा चौपायाका कारण सडकमा सवारी दुर्घटनाको खतरा झनै बढेको छ । विशेषगरी साँझपख र अँध्यारोमा चौपायाको आकस्मिक उपस्थितिले गाडी अनियन्त्रित हुने सम्भावना बढेको छ । यसले सवारी चालकको सुरक्षामात्र होइन, पैदल यात्रीको पनि जोखिम बढाएको छ ।

कपिलवस्तुमा केही वर्षअघि छाडा चौपायाको व्यवस्थापनका लागि काञ्जिहाउस बनाइएको थियो । तर यसको प्रभावकारी प्रयोग भने हुन सकेको छैन । स्थानीय तहले पटक–पटक नियन्त्रण अभियान सञ्चालन गरे पनि ती प्रयासहरू अल्पकालीन हुने गरेका छन् । अभियान केही दिन चलेपछि फेरि चौपाया सडकमा देखिन थाल्छन् ।
जनशक्ति, बजेट र व्यवस्थापनको अभावले स्थायी समाधान सम्भव हुन सकेको छैन । त्यसै पनि चौपायाका धनीले जिम्मेवारी नलिने, निगरानी संयन्त्र नहुनु र कानुनी कारबाहीको अभावले समस्या झन् जटिल बनाएको छ ।
स्थानीय बासिन्दा, व्यवसायी र नागरिक समाजले समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने माग गर्दै आएका छन् । घोषणामा सीमित नबसी, व्यवहारमै देखिने गरी काम गर्नुपर्नेमा उनीहरूको जोड छ । काञ्जिहाउसको पूर्ण उपयोग, चौपायालाई खुला छाड्नेको पहिचान र जरिवाना प्रणाली लागू गर्नुपर्ने आवश्यकता स्थानीयले महसुस गरिरहेका छन् ।
कपिलवस्तुमा छाडा चौपायाको समस्या नयाँ होइन । वर्षौँदेखि यो समस्या दोहोरिँदै आए पनि समाधानका प्रयासहरू प्रभावहीन हुँदै गएका छन् । सडक सुरक्षामा प्रत्यक्ष असर पार्ने, जनस्वास्थ्यमा जोखिम बढाउने र नगरको छवि नै बिगार्ने यो समस्याको दीर्घकालीन समाधानमा अब ढिला गर्नु हुँदैन । स्थानीय सरकार नीतिगत, प्रशासनिक र भौतिक पूर्वाधार सबै तहमा गम्भीर भएर अघि बढ्नुपर्ने समय आएको छ ।
