
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीताको अवधारणाबारे विवादास्पद टिप्पणी गरेका छन्। उनका अनुसार समावेशीता केवल राजनीतिक पदमा प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम हो, तर प्राविधिक वा विशेषज्ञता चाहिने क्षेत्रमा यसको प्रयोग सम्भव छैन।
आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको पुस्तक ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ लोकार्पण समारोहमा उनले हालको समावेशीताको अभ्यास र बुझाइप्रति प्रश्न उठाउँदै भने, “समावेशीताबाट डाक्टर वा इन्जिनियर हुँदैन, यो राजनीतिक पदमा पुग्नका लागि मात्र हो।”

ओलीले आरक्षण वा कोटा प्रणालीभन्दा महिला र पछाडि परेका समुदायलाई शिक्षा, स्वास्थ्य र सीपमार्फत सशक्त बनाउनुपर्ने धारणा राखे। अन्तर्राष्ट्रिय उदाहरण दिँदै उनले कोस्टारिका र क्युबामा महिलाको सहभागिता सशक्तीकरणका कारण उच्च रहेको उल्लेख गरे।
