
अमेरिकाको अस्टिनमा आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर देखिएको विद्युत् आपूर्तिको समस्या स्रोत नभई व्यवस्थापन असफलताका कारण भएको बताएका छन्।
उनका अनुसार नयाँ नेतृत्वले योग्य व्यक्तिलाई हटाउनेजस्ता निर्णयले समस्या चुलिएको हो। दूधकोशी जलाशययुक्त आयोजना जस्ता ठूला परियोजना पनि व्यवस्थापन कमजोरिएकै कारण अन्यौलमा परेको उनको भनाइ थियो।
लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमानदार नेतृत्व, कर्मचारी, सरकार, उपभोक्ता र विदेशमा रहेका नेपालीको सहयोगले सम्भव भएको घिसिङले स्मरण गराए।

‘उज्यालो नेपाल अभियान’ अन्तर्गत घिसिङ हाल अमेरिकामा छन्। यसअघि उनले मध्यपूर्वका विभिन्न देश भ्रमण गरी त्यहाँका नेपालीसँग भेटघाट गरेका थिए।
