
कपिलवस्तु, कृष्णनगर —
कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ सुखरामपुरस्थित एक सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। घटना दिउँसो करिब सवा २ बजेको हो।
मृत्यु हुनेमा स्थानीय १२ वर्षीय आकाश बढई (पिता रञ्जित बढई) र ११ वर्षीय अम्बर रैदास (पिता राजेन्द्र रैदास) रहेका छन्। दुवै बालक गाउँ नजिकैको सार्वजनिक पोखरीमा साथीहरूसँग पौडी खेलिरहेका बेला अचानक गहिराइमा फसेर डुबेका हुन्।
प्रत्यक्षदर्शीका अनुसार, बालकहरू केही बेरसम्म पानीमा संघर्ष गरिरहे। पछि उनीहरू सतहमा नदेखिएपछि खोजी गर्ने क्रममा तैरिरहेको अवस्थामा शव भेटिएको थियो। तत्कालै स्थानीयले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई खबर गरे। प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वमा गएको टोली र गाउँलेको सहयोगमा शव बाहिर निकालियो।

दुवै शवलाई आवश्यक प्रक्रिया पूरा गरी बहादुरगञ्ज अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा पोखरीमा कुनै सुरक्षात्मक संरचना वा चेतावनी सूचना नदेखिएको, र पौडी खेल्ने बालबालिकाका लागि सुरक्षा निगरानीको व्यवस्था नभएको खुल्न आएको छ। सार्वजनिक पोखरीमा सुरक्षा चेतावनी बोर्ड, तारबार वा गहिरो भागमा जाने बाटो रोक्ने व्यवस्था नभएकै कारण यस्ता दुर्घटना दोहोरिने जोखिम उच्च रहेको स्थानीयले बताएका छन्।
प्रहरी निरीक्षक लौडारीले अभिभावकलाई वर्षायाममा पोखरी, नदी, खोलाजस्ता स्थानमा बालबालिकालाई एक्लै जान नदिन आग्रह गरेका छन्। “यो दुखद घटना हो। यस्ता स्थानमा जानुअघि सुरक्षा चेतावनी र निगरानी आवश्यक छ,” उनले भने।
