
पोखरा ।
गण्डकी प्रदेशसभाले घरेलु मदिराको उत्पादन, व्यवस्थापन र बजारीकरणका लागि तयार गरिएको ऐन सर्वसम्मत पारित गरेको छ।
उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालका अनुसार अबदेखि मापदण्ड र गुणस्तर कायम गरी घरेलु मदिरा व्यावसायिक रूपमा उत्पादन गर्न कानुनी व्यवस्था भएको छ। घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरी बजारसम्म पु¥याउने लक्ष्यसहित सरकारले विधेयक ल्याएको हो।
ऐनअनुसार उद्योग दर्ता गरेर मात्र उत्पादन, प्याकेजिङ र बिक्री वितरण गर्न पाइनेछ भने घरायसी प्रयोगका लागि वार्षिक ५० लिटरसम्म बिना अनुमति बनाउन सकिनेछ। साथै, कृषक सहकारीले पनि उद्योग दर्ता गरेर उत्पादन गर्न सक्ने व्यवस्था गरिएको छ।

कोदो, फापर, मकैदेखि स्याउ, मौवा, खुर्पानीजस्ता स्थानीय अन्न तथा फलफूलबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने प्रावधान ऐनमा समावेश छ।
जनजाति समुदायको सांस्कृतिक परम्परा र सामाजिक प्रयोगलाई सम्मान गर्दै सरकारले यसलाई कानुनी दायरामा ल्याएको प्रदेशसभा सदस्यहरूले बताएका छन्।
