
कपिलवस्तु प्रहरीले राति ठूलो परिमाणमा भारततर्फबाट भन्सार छली गरी ल्याइएका कुखुराका चल्ला बरामद गरेको छ । प्रहरीले घटनामा संलग्न दुई जना युवकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ।
प्रहरीका अनुसार, शिवराज नगरपालिका–८ चन्द्रौटा क्षेत्रमा नियमित गस्तीका क्रममा दुई वटा भारतीय नम्बरका मोटरसाइकल रोकेर जाँच गर्दा कुखुराका चल्ला बरामद भएका हुन्। मोटरसाइकल MH12HK5598 का चालक कपिलवस्तु विजयनगर गाउँपालिका–४, नैरगियाका २५ वर्षीय सुरेन्द्र यादव र UP55C0109 का चालक सोही गाउँका २४ वर्षीय अपरम मुसलमानलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए।
दुवै मोटरसाइकलमा गरी जम्मा २६ कार्टुन कुखुराका चल्ला फेला परेको प्रहरीको भनाइ छ। कार्टुनमा करिब २ हजार ५ सय अवैध चल्ला राखिएको थियो। बजार मूल्यअनुसार यी चल्लाको अनुमानित मूल्य करिब १ लाख १२ हजार ५ सय रुपैयाँभन्दा बढी हुने देखिएको छ।

नेपाल र भारतबीचको खुला सीमाको फाइदा उठाउँदै हुने यस किसिमको अवैध कारोबारले भन्सार राजस्व हानि गर्ने मात्र होइन, पशुपक्षीमा रोग संक्रमण फैलन सक्ने जोखिम पनि उच्च हुने विशेषज्ञहरू बताउँछन्। यही कारण प्रहरीले पछिल्लो समय सीमाक्षेत्रमा निगरानी कडा पारेको छ।
बरामद गरिएका चल्ला तथा मोटरसाइकललाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
