
बड्की आइतबारका दिन भदौ ८ गते लुम्बिनी प्रदेशले कपिलवस्तु सहित ६ जिल्लामा सार्वजनिक विदा दिने भएकाे छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी भदौ ८ गते आइतबारका दिन ‘बड्का अत्तवारी ’ पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा सार्वजनिक विदा दिने जानकारी दिएको हो।
यसअघि प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार असोज ८ गते पर्ने ‘बडका अत्तवारी’को दिन विशेषतया उक्त जिल्लाहरूमा धुमधामका साथ पर्व मनाइने भएकाले विदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

यस दिन धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले सर्वसाधारणलाई सहज बनाउन सार्वजनिक विदा घोषणा गरिएको मन्त्रालयको भनाइ छ।
बडका अत्तवारी पर्वमा थारु समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ । थारु समुदायमा बडका अत्तवारी पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक परम्परा छ । थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रुपमा मान्दै आएका छन् । पौराणिक कथानुसार भीमको पूजा गरेर पनि अत्तवारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाइने गरिन्छ ।
आइतबार मनाइने भएकै कारण यो पर्वको नाम अत्तवारी राखिएको मान्यता छ । सूर्य अग्निको प्रतीक पनि हो । प्रकृति पूजक थारु समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बडका अत्तवारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहेकाले प्रदेश सरकारले समेत बिदा दिएको हो ।
