
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा दिनदहाडै ठूलो चोरीको घटना भएको छ । स्थानीय बासुदेव शर्माको घरबाट करिब ६ लाख २२ हजार रुपैयाँ बराबरको सुनका गरगहना र नगद रकम चोरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो घरमा कोही नभएको अवसर पारी चोरले विभिन्न गरगहना र नगद रकम समेत लिएर फरार भएका हुन् । चोरीमा संलग्न व्यक्तिको परिचय हालसम्म खुल्न नसके पनि घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले अपराधीको पहिचान र पक्राउका लागि खोजीकार्य तीव्र पारिएको बताएका छन् । साथै, घटनास्थल वरपरको निगरानी, स्थानीयसँगको जानकारी संकलन र अन्य प्रमाण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले दिनदहाडै भएको चोरीप्रति चिन्ता व्यक्त गर्दै सुरक्षा व्यवस्थामा कडाइ गर्न माग गरेका छन् । प्रहरीले यसलाई गम्भीर घटना मान्दै दोषीलाई चाँडै पक्राउ गरी कानूनी कारबाही अघि बढाइने जनाएको छ ।
