
काठमाण्डौ – देशका धेरै स्थानमा लगातार वर्षा भएको छ। गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको र अन्य क्षेत्रमा हल्का देखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्याङ्जा, पर्वत, कास्की, पाल्पा, रूपन्देही, गुल्मी, कपिलवस्तु, बाँके, दाङ, कैलाली र कञ्चनपुरमा ठूलो वर्षा भएको पुष्टि भएको छ। दाङका तुलसीपुर, बेलझुण्डी र बागासोती, बाँकेको सिक्टा र बैजापुर तथा कपिलवस्तुको भगवानपुर वर्षामापन केन्द्रमा उल्लेख्य मात्रामा वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच, स्याङ्जाको आँधीखोला जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन विशेष आग्रह गरेको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षा हुन सक्नेछ। यस्तै, राति गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अझै ठूलो मात्रामा वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले जनतालाई सतर्क रहन आग्रह गरेको छ।
