
कपिलवस्तु । विषम परिस्थितिमा रोकिएका काम अघि बढाउन जिल्लास्तरीय नेतृत्वले सक्रिय पहल थालेको छ । जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्यले १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै विकास, पुनर्निर्माण तथा जनजीवनसँग सम्बन्धित काम नरोकिने गरी निरन्तर अघि बढाउन अनुरोध गरेका हुन् ।
आचार्यले हालको संवेदनशील अवस्थाले जनप्रतिनिधिहरुको मनोबल कमजोर नबनाउन जोड दिँदै जिम्मेवारीपूर्वक आफ्ना दायित्व पूरा गर्नुपर्नेमा बल दिएका छन् । उनका अनुसार स्थानीय तहकै पहलबाट आधारभूत सेवा–सुविधा र तत्काल आवश्यक काम निरन्तर अघि बढाउन सकिने भएकाले सबै पालिकाले तालमेल गर्दै काम अघि बढाउनुपर्ने आवश्यकता छ ।
यसैबीच, पछिल्लो समय सामाजिक सञ्जालमार्फत जनप्रतिनिधिहरुको राजीनामा दिएको भनाइ सार्वजनिक भइरहेको प्रसंगमा प्रमुख आचार्यले फेसबुक वा अन्य अनलाइन माध्यममा गरिएको राजीनामाको कुनै वैधानिक मान्यता नहुने स्पष्ट पारेका छन् । कानुनी प्रक्रियाअनुसार औपचारिक लिखित राजीनामा बुझाइए मात्र मान्य हुने भन्दै उनले जनप्रतिनिधिहरुलाई भ्रामक गतिविधिबाट टाढा रहन समेत आग्रह गरे ।

आचार्यले भने, “फेसबुक वा सामाजिक सञ्जालमा लेखिएका स्टाटस भावनात्मक अभिव्यक्ति हुन सक्छन्, तर त्यसलाई कानुनी मान्यता दिने कुनै व्यवस्था छैन । जिम्मेवारी पाएको जनप्रतिनिधिले कानुनसम्मत बाटोबाट मात्र निर्णय गर्नुपर्छ।”
उनले स्थानीय तहहरूलाई अहिलेको चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्दै विकास निर्माण, पूर्वाधार पुनःस्थापना र सेवा प्रवाहलाई जनमुखी बनाउन जोड दिए ।
