
कपिलवस्तु, मंसिर २० — भारतबाट अवैध रूपमा ल्याई चोरी पैठारी गरी भण्डारण गरिएको कम्पोजिट मल र गहुँको बिउ दोहनीबाट प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुद्धोधन गाउँपालिका–५, शिवलवामा बस्ने ५० वर्षीय खेदाे मालिको घरमा भारतबाट ल्याइएको वस्तु लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

जिल्ला प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यको निर्देशनमा जिल्ला प्रहरी कार्यालयको टोलीले मालिकको घरमा खानतलासी गर्दा अवैध सामान बरामद गरिएको हो। बरामद सामानमध्ये २० केजीको ३३ बाल्टिन कम्पोजिट मल र २७ बोरा (करिब ४० केजीका) गहुँको बिउ रहेका छन्।
बरामद सामानको कुल मूल्य रु. १,०३,८०० बराबर रहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद सामानसहित सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको बताएको छ।

