
काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था औपचारिक रूपमा अघि बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश–२०८२’ स्वीकृत गरेसँगै दुई दशकदेखि अड्किएको विषयले गति लिएको हो।
निर्णयपछि अब नेपाल आयल निगमले कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाउने छ। मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण भएर आएपछि मात्रै मिश्रणको मात्रा, प्रक्रिया र समयरेखा स्पष्ट हुने उद्योग मन्त्रालयले जनाएको छ।
हालको अवस्थामा नेपालमा पेट्रोलमा दुई प्रतिशत इथानोल मिश्रण गर्ने सम्भावना देखिएको छ। चिनी उद्योगको संख्या सीमित भएकाले सुरुवाती चरणमा यही मात्रामा उत्पादन सम्भव रहेको उद्योगीहरूको भनाइ छ। नेपालमा इथानोल उखुको मोलासिस (खुदो) प्रशोधन गरेर उत्पादन हुँदै आएको छ, जुन हालसम्म बंगलादेश निर्यात हुँदै आएको थियो।
अध्ययनअनुसार पेट्रोलमा इथानोल मिसाउन सके वार्षिक करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको पेट्रोल आयात घटाउन सकिन्छ। आयल निगमको तथ्यांकले १० प्रतिशत मिश्रण भए दैनिक चार लाख लिटर पेट्रोल खपत कम हुने देखाएको छ, तर नेपाल तत्कालै त्यस तहमा पुग्ने अवस्थामा छैन।

इथानोल मिश्रणले सवारी साधनको इन्जिन उत्सर्जन घटाउने, माइलेज सुधार गर्ने र वातावरणीय प्रदूषण कम गर्ने बताइएको छ। भारत, ब्राजिलजस्ता देशमा पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिश्रण अनिवार्यजस्तै भइसकेको छ।
निगमका अनुसार उद्योगीहरूले उत्पादन गर्ने ९६ प्रतिशत शुद्धता भएको इथानोललाई थप प्रशोधन गरी ९९.५ प्रतिशत शुद्धतामा पुर्याएर पेट्रोलमा मिसाइनेछ। यसले उपभोक्तालाई कुनै जोखिम नहुने निगमको दाबी छ।
२०६० सालमै उठेको योजना २० वर्षपछि निर्णयमा पुगे पनि अब चुनौती कार्यविधि कति छिटो बन्ने भन्नेमा केन्द्रित भएको छ।
