
कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले मिति २०८०/०९/२० गते बिहान यशोधरा गाउँपालिका–५ मुडिला चोकमा भारतबाट नेपालतर्फ आउँदै गरेको लु ६९ प ३५७० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक अमरनाथ तिवारीको साथबाट ७० क्याप्सुल र २० ट्याब्लेट लागुऔषध फेला पारी पक्राउ गरेको हो। उनलाई पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय तौलिहवामा अनुसन्धान भइरहेको छ।
यसैगरी मिति २०८०/०९/२२ गते साँझ शुद्धोधन गाउँपालिका–६ गौरीगंजका २४ वर्षीय अतिकुर रहमानलाई प्रहरी चौकी हथिहवादोहनीले शंका लागी चेकजाँच गर्दा १६ क्याप्सुल लागुऔषध फेला पारी पक्राउ गरेको छ। उनलाई १० दिनको म्याद थप गरिएको छ।

त्यस्तै सोही दिन वाणगंगा नगरपालिका–२ तिनैयामा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराले छापा मार्दा २७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित २३ वर्षीय सुरेश थारु र २९ वर्षीय दानबहादुर चौधरी पक्राउ परेका छन्। दुबै जनामाथि सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

