
पर्यटकीय सहर पोखरा यतिबेला फोहोर व्यवस्थापन संकटमा फसेको छ। करिब एक महिनादेखि नियमित संकलन नहुँदा घरघर, चोकचोक र मुख्य सडकसम्म फोहोरका थुप्रा देखिन थालेका छन्। दुर्गन्ध फैलिन थालेपछि सर्वसाधारणमा चिन्ता र असन्तुष्टि बढ्दो छ।
लामेआहालस्थित ल्याण्डफिल साइट भरिएपछि नयाँ स्थान नटुंगिँदा समस्या चर्किएको महानगरको भनाइ छ। दर्जनौं सम्भावित स्थानको अध्ययन गरिए पनि स्थानीय विरोधका कारण ठोस निर्णय हुन सकेको छैन। प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालका अनुसार २०/२५ स्थान हेरिए पनि सहमति जुट्न नसक्दा तत्काल समाधान कठिन बनेको छ।
लेकसाइड क्षेत्रको फोहोर भने पर्यटनमा असर नपरोस् भनेर प्राथमिकताका साथ व्यवस्थापन गरिएको महानगरले जनाएको छ। अन्यत्र भने चोक, बजार र सरकारी कार्यालय आसपास फोहोर थुप्रिएको अवस्था छ। पानी परे थप जोखिम बढ्ने चेतावनी समेत दिइएको छ।

स्थायी समाधानका लागि विदेशी कम्पनीसँग सम्झौता भए पनि जग्गा विवादले प्रक्रिया अघि बढ्न सकेको छैन। झाक्रिखोलामा प्रस्तावित प्रशोधन केन्द्र पनि स्थानीय विरोधका कारण अलपत्र छ। दैनिक १५०–२०० टन फोहोर उत्पादन हुने पोखरामा २० गाडीमार्फत संकलन हुँदै आएको थियो।
यसबीच मेयर धनराज आचार्यले संकलन गाडी पुनः सञ्चालनमा ल्याइने र थुप्रिएको फोहोर शनिबारसम्म उठाइने जानकारी दिएका छन्। आइतबारपछि सार्वजनिक स्थानमा फोहोर फाले न्यूनतम ५ हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिइएको छ।
स्थायी व्यवस्थापनको टुंगो नलागेसम्म पोखराको ‘पर्यटकीय राजधानी’ छवि नै संकटमा पर्ने देखिएको छ।
