
कपिलवस्तु जिल्ला अन्तर्गतको शिवराज नगरपालिका ले सार्वजनिक जग्गा अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई ७ दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालय, चन्द्रौटाद्वारा २०८३ वैशाख १५ गते प्रकाशित सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा (२) बमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले यस्तो कदम चालिएको जनाइएको छ।
सूचनामा अनुसार वडा नं. ७ अन्तर्गत साविक जवाभारी–१क स्थित कित्ता नं. ५४ (क्षेत्रफल ०–९–१–०) मा पर्ने शेष आधारभूत विद्यालय क्षेत्रभित्रका सार्वजनिक जग्गामा अवैध रूपमा संरचना निर्माण गरी भोगचलन तथा अतिक्रमण गरिएको पाइएकाले ती सबै हटाउन निर्देशन दिइएको हो।

नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र, अर्थात् २०८३ वैशाख २२ गतेसम्म जग्गा खाली गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र अटेर गरेमा प्रचलित कानुनअनुसार अतिक्रमित संरचना हटाइने र सो क्रममा लाग्ने खर्च, क्षतिपूर्ति तथा अन्य जिम्मेवारी सम्बन्धित व्यक्तिबाट नै असुल गरिने चेतावनी समेत दिइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै सरोकारवालालाई सहयोग गर्न समेत अनुरोध गरिएको छ।

