अविरल वर्षा र हिमपातले हुम्लाका मुख्य तथा ग्रामीण सडक ठप्प, जनजीवन प्रभावित

0
Quantam abroad studies

हुम्ला, असोज १५

अविरल वर्षासँगै आएको बाढी, पहिरो र हिमपातका कारण हुम्लाका मुख्य तथा ग्रामीण सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन्। चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडक, कर्णाली करिडोरका साथै जिल्लाका सातवटै गाउँपालिका जोड्ने सडकहरूमा व्यापक क्षति पुगेको छ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सडकका विभिन्न स्थानमा पहिरो र ठूला ढुङ्गा खसेका छन् भने बाढीले कल्भर्टलगायतका संरचना बगाएको छ। सदरमुकाममा विद्युत् आपूर्ति बन्द भएकाले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
कर्णाली करिडोरअन्तर्गत कवाडीदेखि हिल्सासम्मका विभिन्न स्थानमा पहिरोले सडक ठप्प पारेको छ। हाल कवाडी–गिउसी सडकखण्डको पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ भने माथिल्लो खण्ड पनि चाँडै खुलाउने गरी निरन्तर काम भइरहेको छ।

sahani furniture udyog


त्यस्तै, उत्तरी हुम्लाको नाम्खा गाउँपालिकास्थित नारा लेक र लिमी जाने न्यालु लेकमा करिब साढे तीन फिटसम्म हिउँ जमेकाले ती सडकसमेत पूर्ण रूपमा बन्द भएका छन्। हिउँ नपन्छाएसम्म ती सडक सञ्चालनमा ल्याउन नसकिने प्रहरीको भनाइ छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार ग्रामीण सडकका ७० भन्दाबढी स्थानमा पहिरो खसेको छ। अवरुद्ध सडक सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयमा नियमित कमान्ड पोस्टको बैठक बसी सबै गाउँपालिकासँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिए।


सडक अवरोधकै कारण असोज १० गतेका लागि तय गरिएको नेपाली कांग्रेसको प्रदेश अधिवेशन तीन दिन पछि धकेलिएर असोज १३ गते मात्र सम्पन्न भएको थियो। तल्लो क्षेत्रबाट सिमकोट पुग्ने प्रतिनिधिहरू सवारीसाधन नचल्दा ठाउँ-ठाउँमा पैदल हिँड्न बाध्य भएका थिए। सडक सञ्जाल बिच्छेद भएपछि हुम्लामा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवागमन र अत्यावश्यक सेवाहरू गम्भीर रूपमा प्रभावित बनेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.