
काठमाडौं, कात्तिक २९

नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।
महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
तिहारयताको समग्र बजार अवस्था हेर्दा सुनको मूल्य प्रतितोला १४ हजार १ सय रुपैयाँले घटिसकेको छ । तिहारअघि अर्थात् गत सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तिहार बिदाका कारण सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा सुनचाँदीको मूल्य समायोजन गरिएको थियो ।
यस्तै, आइतबार चाँदीको भाउ पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आइतबार घटेर ३ हजार ६ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । तिहारयता चाँदीको मूल्यमा कुल २५५ रुपैयाँले गिरावट आएको छ । गत सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
