
सुनसरी, कात्तिक ३०
सुनसरीको हरिनगर गाउँपालिकास्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कात्तिक २९ गते साँझ करिब ७:३० बजे (१९:३० बजे) हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा तोडफोड भएको थियो। श्रद्धालु भक्तजनहरू साँझको छठ पूजा सकेर घर फर्किसकेपछि पूजास्थलमा तोडफोड भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र बहादुर खड्काद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा क्षति पुगेको पूजास्थलको पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइसकिएको उल्लेख छ। प्रहरीले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई निर्धक्क भएर छठ पूजामा सहभागी हुनसमेत अनुरोध गरेको छ।

