

उर्मिला यादव यात्री बैशाख ३०
रुपन्देही जिल्लामा निषेधाज्ञाको अवधि पुन थप गरीएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितीको बुधबारको निर्णय अनुसार निषेधाज्ञाको अवधि जेठ १३ गते विहान ६ बजेसम्मका लागी पुन थप गरीएको हो ।
जिल्लामा कोरोना सक्रमितहरुको संख्या दिनानुदिन बढ्दो क्राममा रहेकाले कोभिड १९ को नया भेरियन्ट फैलिन नदिन तथा यसको रोकथाम, उपचार तथा ब्यवस्थापनका लागी निषेधाज्ञाको अवधि पुन थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । निषेधाज्ञाको अवधि भर अत्यावश्यक समान ढुवानी गर्ने बाहेकका अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने लगायत अत्यावश्यक काम बाहेक हिडडुलमा समेत रोक लगाइएको छ ।

यसैगरी अत्यावश्यक सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफूल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग वाणिज्य संघ र व्यापार संगठनले व्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि रुपन्देहीमा बैशाख १६ गतेदेखी निषेधाज्ञा लगाइएको छ।
