अमृत भट्टराई ,जेष्ठ ३२
पर्वत- जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लङ्ग शनिबार मध्य राति भिषण बर्षा सँगै आएको पानीले गर्दा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । शनिबार रातीको पहिरोमा पुरिएका नौ जनामध्ये राती नै तीन जनाको र आइतबार बिहान दुई जनाको शव भेटिएको थियो ।
स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा नौ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएका तुलबहादुर थापाको घरमा पुरिएका थापा सहित नीलकुमारी थापा , दीपा थापा र विविशा थापा र कमला विकको शव भेटिएको प्रहरीले जनाएको छ ।
कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार बिहानसम्म पाँच जनाको शव भेटिएको र थापाको घरका दुई जना र विकको घरका दुई जना अहिले पनि बेपत्ता रहेका छन् । राती पनि भीषण वर्षा भएको र अँध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानै देखि नेपाल प्रहरी , नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राती दुई बजेसम्म खोजी गर्दा तीन जनाको र बिहान थप दुई जनाको शव भेटिएको र अन्यको नेपाल प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिनुभयो ।