

दिपक जैसवाल , रुपन्देही , जेठ ९
सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको जिल्लाको सीमानाम सिद्धबाबा मन्दिर क्षेत्रमा सरकारले सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरेको हो । जेठको २४ गतेसम्म ठेक्काको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ । दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर रहनेछ ।

यसैगरी सुरुङभित्र कुनै समस्या भएमाको खण्डमा बाहिरा निस्कनको लागि बाहिरी सडकसँग लिङ्क गर्नको लागि तीनवटा सहायक सुरुङ मार्ग समेत रहने छ । सहायक सुरुङ डेढ देखि दुई सय मिटरसम्म लामा हुनेछन् । सिद्धबाबाको सुरुङमार्ग ११ सय २७ मिटर लामो रहने भएपनि त्यहाँ संरक्षण र पहिरो रोकथामको लागि धेरै काम गर्नुपर्ने भएकाले २८ सय मिटर क्षेत्रमा काम गर्नुपर्ने देखिएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो ।
सिद्धबाबा क्षेत्रमा निक्कै अप्ठ्याराे पहाड भएकाले सुरुङ निर्माणसँगै पहिरो रोकथाम र संरक्षणको काम पनि उत्तिकै चुनौतीपूर्ण रहेको नेपालको भनाइ छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएकाे वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो । यो सुरुङ मार्ग बनेपछि पहिरो लगायत दुर्घटनाले सिद्धबाबा मन्दिर क्षेत्रमा भैरहेको जनधनको क्षतिमा निकै कमि आउने छ ।
