बुटवल, १ कात्तिक
गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । रुपन्देही आएका गृहमन्त्री खाँडले सरकारले विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडी बढाएर शीघ्र सन्चालनको तयारी गरिरहेको बताएका हुन् ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासको लागि कार्ययोजना तयार पारेको पनि जानकारी दिए । ‘विमानस्थल सन्चालन र एकीकृत जाँच चौकी कार्ययोजना सरकारले तयार पारेको छ, अब कार्ययोजनाअनुसार काम अगाडि बढ्छ,’ उनले भने ।
फरक प्रसङ्गमा गृहमन्त्री खाँणले ठूला दललाई सरकार चलाउनुस् भनेर जनताले म्यान्डेट दिए पनि त्यस्ता दलले आफ्नै पार्टीभित्रको झगडाका कारण पाँच वर्षे कार्यकाल पुरा गर्न नसकेको बताए । उनले भने, ‘ कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएकै थिएन्, कांग्रेसलाई आरोप छ कि कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।’ यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि निकासका लागि अग्रसर भइदिनु पर्यो भनेर अन्य दलका नेताहरूको अग्रसरतामा नयाँ गठबन्धन गरेर अगाडी बढेको उनले बताए ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले पार्टीको १४औं महाधिवेशन सफल पार्नु पर्ने बताए । उनले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिकांश स्थानको अधिवेशनमा सहमतिमै नेतृत्व चयन भएको बताए । अहिले कांग्रेसको काँधमा जिम्मेवारी र चुनौति रहेकाले जिम्मेवारी पुरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने उनको भनाइ छ । अहिलेको विषम परिस्थितिमा काँग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशिल सदस्यको संख्या १० लाखको हाराहारीमा पुगेको नेता खाँणले बताए ।
उनले रुपन्देहीको विकासका लागि प्रयत्नशील रहेको पनि बताए । बेलहिया नाकालाई व्यवस्थित बनाउन अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूलाई आग्रह र छलफल गरेको मन्त्री खाँणले बताए । भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानको लागि अल्पकालिन र दीर्घकालिन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडी बढेको बताए ।
कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं कांग्रेस नेता वसिउद्दिन खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीलगायतले कांग्रेस जनताको साथमा रहेको र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।
साभार: न्युज कारखाना