
अजय सहानी , कपिलवस्तु , मंसिर ६
बुद्धको क्रिडास्थल तिलौराकोट दरबार क्षेत्रको एेतिहासिक र पुरातात्त्विक महत्व सबै सामु सर्बबिदितै छ । तर पुरातात्त्विक महत्व बोकेको र बौद्ध मार्गीको आस्था संग जोडीएको जोडी स्तुपको भने जिर्ण बन्ने खतरा बढेको छ ।
इशा पुर्ब चौथो शताब्दीमा निर्माण भएको ठुलो स्तुपको ब्यास ५२ फिट र उचाइ ७.५ फिट रहेको छ भने सानो स्तुपको ब्यास २६ फिट रहेको छ । सानो स्तुप इशा पुर्ब दोस्रो पहिलो शताब्दी अगावै निर्माण भएको अनुसंधानले देखाएको छ । यस जोडी स्तुपमा आन्तरिक र बिदेशी गरि बर्सेनि हजारौं पर्यटक पुग्ने गरेका छन् ।
तिलौराकोट आन्तरिक र बाह्र पर्यटकको लागि महत्त्वपूर्ण गन्तव्यको रुपमा रहेको छ । बिश्वको बौद्ध मार्गीका लागी तिलौराकोट दरबार क्षेत्र आस्था संग जोडीएको छ । तिलौराकोट दरबार क्षेत्र संगै रहेका प्राचीन जोडी स्तुप र कन्थक स्तुप समेत बौद्ध मार्गीका लागि आस्थाको केन्द्रको रुपमा रहेका छन् ।
बिगत केहि बर्ष यता तिलौराकोट दरबार क्षेत्रको संरक्षण एवं प्रबर्द्धनमा केहि काम भएतापनि दरबार क्षेत्र नजिकै रहेको जोडी स्तुप भने संरक्षणको पर्खाइमा रहेको छ । लामो समय देखी जोडी स्तुपमा तारबार , पर्खाल वा हेरचाह गर्न गार्ड नभैदिदा उक्त स्तुप पशु चराउने ठाँउमा परिणत भएको छ।

बौद्ध मार्गी तिर्थ यात्रीहरुले प्राथना गर्ने गरेको उक्त जोडी स्तुप पशु चराउने ठाँउ र स्थानीय बालबालिको खेल मैदानमा परिणत हुँदा त्यस स्तुपको हेरचाह गर्ने निकाय पुरातत्त्व बिभाग र लुम्बिनी बिकास कोष माथी काम कर्तव्य र जिम्मेवारी प्रति गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
सम्बन्धित निकायको गैर जिम्मेवारीपन र लापरबाहीका कारण पुरातात्त्विक महत्त्व बोकेको जोडी स्तुप जिर्ण बन्दै गैरहेको छ । स्थानीय गणेश श्रीवास्तव अनुसार प्रचारप्रसार , संरक्षण र प्रबर्द्धनको अभावमा बर्सेनि तिलौराकोट दरबार क्षेत्रमा आउने पर्यटक मध्ये अधिकान्सलाइ जोडी स्तुपको बारेमा थाहा हुदैन र त्यहाँ नपुगी समेत फर्किने गरेका छन् । तिनै तहका सरकार प्रमुखहरु निरन्तर फोटो खिचाउन र ठुल ठुला सपना देखाउन मात्र आउने गरेको आरोप स्थानीय युवाहरुले लगाएका छन् ।
यसैगरी तिलौराकोट दरबार क्षेत्रमा धान महोत्सव , बुद्ध जयन्ती , महाभिनिष्क्रमण दिवस लगायतका कार्यक्रममा बर्सेनि लाखौं खर्च भैरहेको छ । तर जोडी स्तुपको संरक्षणको विषयमा लुम्बिनी बिकास कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेती संग कुरा गर्दा उहाँले अर्थिक र जनशक्ति अभावका कारण त्यस ठाँउको संरक्षणमा समस्या भएको बताएका छन् । बिगतको कोरोना महामारीका कारण पर्यटक नआउँदा कोषको आम्दानी घटेको र अन्य आन्तरिक आर्थिक स्रोत समेत प्रभावित भएको हुँदा आर्थिक अभाव भएकोले त्यस ठाँउको उचित संरक्षण हुन नसकेको उप्रेती ले बताएका छन् ।
लुम्बिनी बिकास कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेती अनुसार चाडै नै तिलौराकोट दरबार क्षेत्रमा रहेको जोडी स्तुप , कन्थक स्तुप लगायतका पुरातात्त्विक महत्व बोकेका स्थानलाइ कोर जोनमा राखेर संरक्षण एवं बिकास गरिने छ ।


