कपिलवस्तु , कार्तिक १
बुधबार दिउसो २ बजे कृष्णनगर लिंकगेट बाट सहजै सीमापारी गएकी एक महिलालाई सीमाक्षेत्रमै खटिएको भारतीय सुरक्षाकर्मीले समात्यो । शंकास्पद गतिविधि देखाउने ति महिलाको खानतलाशी गर्दा शरिरमा लुकाईराखेका १ किलो चरेश फेला प¥यो । भारतीय सुरक्षा श्रोतका अनुसार बाँसी सिद्धार्थनगर भारत बस्ने मिना नामकी ति महिला आफु भरिया भएको र यस अघि पनि ३ दिन देखि ५ पटक चरेश कृष्णनगरबाट सोहि मार्ग भएर ल्याएको प्रहरी बयानमा स्वीकारेको भारतीय सुरक्षा श्रोत बताउछ ।
यस अघि असोज ४ गते भारतीय मोटरसाइकलमा कृष्णनगर लिंकगेट हुदै स्वचालित पेस्तोल तथा केहि लागूऔषध सहित २ जना भारतीय नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई स्थानीयबासीको सहयोगमा इलाका प्रहरी कार्यालय बहादुरगंजले कृष्णनगर ८ गणेशपुर चोकबाट पक्राउ गरेको थियो । भारतको उत्तरप्रदेश पिपरा गौतम बस्ने प्रितम कुमार र उत्तरप्रदेश देवापार हरनखा बस्ने २२ बर्षका सुरज द्धिवेद्धी बाट रिभल्भर र त्यसमा लाग्ने ५ थान गोली र केहि लागूऔषध सहित प्रहरीले पक्राउ गरयो । बयानका क्रममा आफुहरु बढनी मुल सडकबाट लिंकगेट हुदै आएको र कसैले केहि सोधपुछ नगरेको बताएका थिए । यसै गरि असोज १० गते ब्राउनसुगर नेपाल ल्याउने क्रमममा लिंकगेट अगाडीबाटै भारतीय एसएसबीले २ जनालाई पक्राउ गरेको थियो । सिद्धार्थनगर बढनी बस्ने अर्जुन कुमार र अनिल कुमारलाई ११.५ ग्राम ब्राउनसुगर सहित एसएसबीले दिउसो १ बजे समातेको थियो । लिंकगेटकै नाका भएर लागू औषध कारोबार गरिरहेको पक्राउ दुबैले बयान दिएका थिए ।
यस्ता दर्जनौ थुप्रै घटनाले कृष्णनगर लिंकगेट सुरक्षा जाँचको लागि होइन कि दुःख गरेर नेपाल फर्कने नेपालीको झोला खोतल्ने र नेपाल प्रवेश गर्ने भारतीय सवारी संग अवैध रकम लिनका लागि स्थापना गरिएको देखिन्छ । जिल्लाका विभिन्न चौकीहरुमा सुरक्षाकर्मी अभाव हुदा लिंकगेटमा दरबन्दी भन्दा बढि सुरक्षाकर्मी थुप्रिएका छन् । तर सोहि नाका भएर लागू औषधको ओसारपसार र हथियार सहित व्यक्ती प्रवेश गर्नु जस्ता तमाम घट्नाले सुरक्षाकर्मीको चासो कुन विषयमा बढि छ भन्ने प्रष्ट हुन्छ । त्यहा कार्यरत बरिष्ठ सइ महेन्द्र पोख्रेल फागुन देखि कार्यरत छन् । त्यस अघि त्यहि लिंकगेटले २४ किलो चरेश समात्दै गर्दा अहिले कुनै पनि सर्तकता नदेखाइनु आफैमा आशंकाको विषय बनेको छ । चन्द्रौटा, सुन्दरीडाडा, बहादुरगंज, गणेशपुर लगायतका प्रहरी कार्यालयले सोहि नाकाबाट नेपाल प्रवेश गरेका लागू औषध कारोबारी पक्राउ गर्दा त्यही कार्यरत प्रहरीले किन पक्राउ गर्न सकेन भन्ने अर्को प्रश्न छ । जिल्लाको प्रमुख आर्थिक सीमा नाका, कृष्णनगर भन्सार र थुप्रै सुरक्षा चुनौती नियमन तथा व्यवस्थापन गर्न सीमानामा राखिएको प्रहरी चौकीले आर्थिक संकलन भन्दा अरु कुनै उप्लव्धी गरेको देखिदैन ।