
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा भइरहेको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास अन्वेषण अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म ३,९३० मिटरको ड्रिलिङ कार्य पूरा भइसकेको छ भने अब केवल ७० मिटर मात्र खन्न बाँकी छ।
गत वैशाख २८ मा सुरू भएको ड्रिलिङ कार्य निर्धारित समयभन्दा अघि सम्पन्न गर्ने लक्ष्यमा रहेको परियोजनाका प्रमुख गणेशनाथ त्रिपाठीले जानकारी दिए। उनका अनुसार यसै महिनाभित्र ड्रिलिङ कार्य पूरा हुने अपेक्षा छ।

चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक सर्भेक्षणहरू—सिस्मिक, जियोलोजिकल, म्याग्नेटो टेल्युरिक, र जिओ केमिकल सर्भे समयमै सम्पन्न गरेको थियो। यस परियोजनाका लागि चीन सरकारको २ अर्ब ५० करोडको अनुदान प्राप्त भएको छ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ४५ रोपनी जमिन अधिग्रहण गरिएको छ भने चिनियाँ र नेपाली गरी ८० जनाको टोली उत्खनन कार्यमा खटिएको छ। परियोजनालाई खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे, र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा अघि बढाइरहेका छन्।
