
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीको आरोपमा तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीले शनिबार घटनाको विवरण सार्वजनिक गर्दै सप्तरी निवासी ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास, र सुनसरीको इटहरी उपमहानगरपालिका-१९ निवासी २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरेको जनाएको छ।
उनीहरू हिमालय एयरलाइन्सको उडानबाट दोहाबाट काठमाडौँ आएका थिए। विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा जाँच गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, तीनै जनाको मलद्वारमा लुकाइएको अवस्थामा सुन बरामद गरिएको छ। कृष्णप्रसादको साथबाट ५८.३३ ग्रामको सिक्री, मोहम्मदको साथबाट ५८.३३ ग्रामको सिक्री, र शिवशंकरको साथबाट पनि ५८.३३ ग्रामको सिक्री बरामद गरिएको छ।

पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि भन्सार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ।
