
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आजबाट भव्य धार्मिक मेला, महाकुम्भको सुरुवात भएको छ। यो मेला गंगा, यमुना र पौराणिक सरस्वती नदीको पवित्र संगम त्रिवेणीमा आयोजना भइरहेको छ।
उत्तर प्रदेश सरकारले महाशिवरात्रीसम्म चल्ने यो ४० दिने मेलामा करिब ४० करोड श्रद्धालुहरूको सहभागिता रहने अनुमान गरेको छ। आज पौष पूर्णिमाको पहिलो स्नानमा मात्रै १ करोड भक्तजनले संगममा स्नान गर्ने अपेक्षा गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
मेलाको लागि १२ किलोमिटर क्षेत्रमा स्नान घाट निर्माण गरिएको छ। संगम पुग्नका लागि भक्तजनहरूले १० देखि १२ किलोमिटरसम्म पैदल यात्रा गरिरहेका छन्। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै ६० हजार सैनिक, प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ।
यस महाकुम्भमा स्वदेशी भक्तजनका साथसाथै विदेशी भक्तजनहरूको पनि उल्लेखनीय उपस्थिति रहेको छ। एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स पनि यस पवित्र अवसरमा सहभागी हुन प्रयागराज पुगेकी छिन्।

यो महाकुम्भ विशेष खगोलीय संयोगमा १ सय ४४ वर्षपछि आयोजना भएको बताइएको छ। मेलाको पहिलो दिन आज शाही स्नान हुनेछ। ४ हजार हेक्टर क्षेत्रफलमा फैलिएको मेला क्षेत्रमा प्रदेश सरकारले हेलिकोप्टरबाट २० क्वीन्टल गुलाबको फूलको वर्षा गरी श्रद्धालुहरूलाई स्वागत गर्ने विशेष तयारी गरेको छ।
४० दिनसम्म चल्ने यस मेला अवधिभर उत्तर प्रदेश सरकारले ‘युपी दिवस समारोह’ र विभिन्न सांगीतिक कार्यक्रमका साथै थुप्रै धार्मिक कार्यक्रमहरूको आयोजना गर्ने तालिका बनाएको छ। बीबीसी हिन्दीका अनुसार यो मेलालाई केवल एक ठूलो धार्मिक कार्यक्रमको रूपमा मात्र नभई उत्तर प्रदेश सरकारको प्रशासनिक क्षमता र शक्तिको प्रदर्शनको रूपमा पनि हेरिएको छ।
