
शहबाज खान, कपिलवस्तु
कपिलवस्तु जिल्लाको दक्षिण-पश्चिमी सिमानामा अवस्थित कृष्णनगर क्षेत्रमा तस्करीको समस्या दिनानुदिन बढ्दै गएको छ। स्थानीय व्यापारीहरूका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मौन समर्थनका कारण तस्करीलाई थप प्रोत्साहन मिलेको छ।
सिमावर्ती क्षेत्रबाट लहसुन र पापकान, जस्ता कृषि उपजहरू तथा कबाड़ नेपालबाट भारततर्फ तस्करी भइरहेको छ। त्यसैगरी, भारतबाट मोटर पार्ट, मोबिल, पेण्ट, चिनी, कपडा, जुत्ता-चप्पलजस्ता सामानहरूको ठूलो परिमाणमा तस्करी भइरहेको चर्चा रहेको छ।
तस्करीको कारणले सिमावर्ती क्षेत्रका व्यापारीहरू गम्भीर समस्यामा परेका छन्। स्थानीय उद्योगीहरूले उद्योग व्यापार बन्द गर्ने अवस्था आएको बताउँदै तस्करी रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षा निकायहरूले आवश्यक कदम चाल्न नसक्दा तस्करहरूको मनोबल उच्च रहेको छ। यसले गर्दा कानुनी शासनको कार्यान्वयनमा गम्भीर प्रश्न उठेको छ।
यस क्षेत्रका स्थानीयहरू र व्यवसायीहरूले तस्करी नियन्त्रणमा सरकार र सुरक्षा निकायहरूको जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न जोडदार अपिल गरेका छन्।
सम्बन्धित निकायहरूले ध्यान दिन नसकेमा तस्करीको यो समस्या अझै जटिल हुने देखिएको छ।
