
कमलेश चन्द्र गुप्ता , कपिलवस्तु
जिल्लाको कृष्णनगर नगरपालिका तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधि राम गोरखा माध्यमिक विद्यालयले उचालेको छ। कृष्णनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर ९ मा रहेको राम गोरखा माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो।
बहादुरगंजस्थित राम गोरखा माविले ९ स्वर्ण, १० रजत र ३ कास्य पदक गरी कुल २२ पदक हात पार्दै पहिलो स्थान हासिल गर्यो। वडा नम्बर १० सौनहवास्थित नेत्रज्योति माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ७ कास्य गरी १८ पदकसहित दोस्रो स्थान प्राप्त गर्यो। वडा नम्बर २ कृष्णनगर स्थित सेन्ट ज्युडस कृष्णनगरले २ स्वर्ण , ३ रजत र २ कास्य गरी ६ पदक जित्दै तेस्रो स्थान हासिल गर्यो।विजेता खेलाडीहरूलाई प्रमुख अतिथि पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, नगरप्रमुख रजत प्रताप शाह र उपप्रमुख आरतीदेवी चौधरीले मेडल तथा प्रमाणपत्र प्रदान गरे।
प्रमुख अतिथि अभिषेक प्रताप शाहले खेलकुदले विद्यार्थीहरूको मानसिक तथा शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा नगरस्तरीय प्रतियोगिताहरूलाई थप प्रोत्साहन दिन आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाउनुभयो। नगरप्रमुख रजत प्रताप शाहले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनप्रति बधाई दिँदै नगरपालिकाले शिक्षा र खेलकुद क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकता दिने बताउनुभयो। “विद्यालयस्तरमै खेलकुदको प्रवर्द्धन गर्न सके मात्रै भावी पुस्तालाई सक्षम खेलाडीका रूपमा विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो।


कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख बलराम पन्थीले गर्नुभएको थियो।
