
मुस्ताङ — हिन्दू तथा बौद्धमार्गीहरूको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको कोषमा ९ करोड ६९ लाख १५ हजार ४१ रुपैयाँ मौज्दात रहेको छ। मुक्तिनाथ विकास समितिले मन्दिर परिसरका विभिन्न दानपेटिका तथा नगद रसिद मार्फत संकलन गरिएको रकम पाँच वटा बैंकमा राखेको जनाएको छ।
समितिका सदस्य सचिव एवम् जिल्ला मालपोत कार्यालयका प्रमुख सुर्यप्रसाद अर्यालका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकमा ३ करोड ८४ लाख रुपैयाँ तथा प्रभु बैंकमा २ करोड ९२ लाख रुपैयाँ मुद्धती खातामा राखिएको छ। बाँकी रकम माछापुच्छ्रे बैंक, नेपाल बैंक र कृषि विकास बैंकमा रहेको छ।

मन्दिरभित्र भक्तजनले चढाउने भेटी भने समितिले संकलन गर्ने अनुमति पाएको छैन। पूजारीहरूले सो भेटी संकलन गर्ने व्यवस्था रहेको छ। यद्यपि, समितिले मन्दिर व्यवस्थापनका लागि मासिक ५ हजार पूजारीलाई तथा रसिद काट्ने कर्मचारी र सरसफाइकर्मीलाई गरी तीन जनालाई ६२ हजार रुपैयाँ खर्च गर्दै आएको छ।
वर्षेनि झन्डै १० लाख भक्तजन मुक्तिनाथ मन्दिर पुग्ने अनुमान गरिएको छ। मन्दिरमा डिजिटल चन्दा भुक्तानी प्रणाली लागू भएपछि भेटी संकलनमा केही सहजता आएको समितिले जनाएको छ। वार्षिक चाडपर्व तथा अन्य व्यवस्थापनका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने गरेको छ। समितिले संकलित रकम मन्दिर व्यवस्थापन तथा कर्मचारी तलब बाहेक अन्यत्र खर्च नगर्ने जनाएको छ।
