
कपिलवस्तुको बिजयनगर गाउँपालिका-७, परसोहियाका २२ अग्निपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी, कपिलवस्तु शाखाले राहत वितरण गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिल बहादुर तामाङ, प्रहरी उपरीक्षक निरंजनदत्त भट्ट, तथा गाउँपालिकाका उपप्रमुख लक्ष्मी चौधरीको अगुवाइमा राहत सामग्री वितरण गरिएको हो।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री सन्तोष श्रीवास्तवका अनुसार प्रत्येक पीडित परिवारलाई दुई थान कम्बल, एक थान त्रिपाल, एक बाल्टी, एक डोरी, एक बोरा, एक पुरुष धोती र एक महिला धोती प्रदान गरिएको छ।

गत चैत १५ गते दिउँसो परसोहिया गाउँमा कतारे खटिको गोठबाट सुरु भएको आगलागीले ठूलो क्षति पुर्याएको थियो। प्रहरीका अनुसार आगलागीका कारण ३० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ।
स्थानीय सरकारका तर्फबाट वडा कार्यालय र गाउँपालिकाले समेत पीडित परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ।
