
अमेरिकाले आप्रवासन नीतिमा देखाएको कडाइका कारण थप आठ नेपाली नागरिकलाई हालै निष्काशन गरिएको छ। गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका यी नेपालीहरूलाई अमेरिकी अध्यागमन निकायले यसै साता स्वदेश फर्काएको हो।
निष्काशनमा परेका नागरिकहरू बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, र पाठक थरका रहेका छन्। उनीहरूलाई एयर इन्डियाको नियमित उडानमार्फत नेपाल पठाइएको हो।

सूचनाअनुसार, पुन, सुवेदी, पुन मगर, पाठक र बुढा मेक्सिकोमार्ग हुँदै अमेरिका प्रवेश गरेका थिए। अमेरिकी भूमिमा पाइला राख्ने बित्तिकै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। कतिपयको साथमा राहदानी नभएको हुँदा अमेरिका सरकारले ट्राभल डकुमेन्टको व्यवस्था गरी डिपोर्ट प्रक्रिया अघि बढाएको थियो।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि लागू गरिएको कडा आप्रवासन नीतिको प्रभाव अहिले पनि देखिएको छ। गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई नियन्त्रणमा लिने क्रम जारी छ। अमेरिकी अध्यागमन विभाग, विशेषतः आइसीई (ICE) को निगरानीमा अझै पनि ठूलो सङ्ख्यामा नेपालीहरू रहेका बताइएको छ।
