
संस्कृत व्याकरणका जनक मानिने पाणिनि ऋषिको तपोस्थली अर्घाखाँचीको पाणिनिमा आजदेखि दुई दिने ‘पाणिनि तपोभूमि सम्मेलन’ सुरु हुँदैछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। उनी आज दिउँसो अर्घाखाँची आइपुग्नेछन्।
पाकिस्तानको लोहारबाट सयौं वर्ष अघि नेपाल आएका पाणिनिले अर्घाखाँचीको खिदिमस्थित पणेना जंगल क्षेत्रमा तपस्या गरी संस्कृत व्याकरणको रचना गरेको धार्मिक ग्रन्थमा उल्लेख छ। सोही ऐतिहासिक स्थलको प्रचारप्रसार तथा संरक्षणका लागि सम्मेलन आयोजना गरिएको हो।
पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेका अनुसार, सम्मेलन लुम्बिनी प्रदेश सरकारको पर्यटक विकास परिषद्, नेपाल पर्यटन बोर्ड, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न हुँदैछ।

२०७६ सालमा नेपाल सरकारले पाणिनि तपोभूमिलाई ‘सय गन्तव्य’ अन्तर्गत समेटेको थियो। लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीका अनुसार, सम्मेलनको मुख्य उद्देश्य पाणिनिको तपोभूमिको धार्मिक, ऐतिहासिक र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हो।
दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन राजनीतिक नेतृत्वबाट पाणिनिको जीवन र योगदानबारे चर्चा गरिनेछ भने दोस्रो दिन धार्मिक गुरु तथा संस्कृतका विद्वानहरूले गुरुयोजना प्रस्तुत गर्नेछन्।
हाल जङ्गल क्षेत्रमा रहेको पाणिनि तपोभूमिको प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गर्न गुरुयोजना निर्माणको तयारी पनि सम्मेलनसँगै अघि बढाइने जनाइएको छ। संस्कृतिविद्हरूका अनुसार, पाणिनिले तपस्या गर्दा शिवले उनलाई १४ सूत्र प्रदान गरेको धार्मिक मान्यता छ।
