
नेपालगन्जको जमुनाह नाकामा भन्सार प्रशासनले कडाइ सुरु गरेको छ। सीमावर्ती भारतीय बजार रुपैडिहाबाट दैनिक उपभोग्य सामग्रीसहित अन्य खाद्यवस्तु आयातले भन्सार राजस्व र नेपालगन्जको व्यापारमा असर पार्न थालेपछि यस्तो कदम चालिएको हो।
नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलका अनुसार, एक सय रुपैयाँभन्दा बढीको वस्तु ल्याउँदा कर तिर्नुपर्ने कानुन छ। यद्यपि, व्यवहारमा केही सहुलियत दिँदा राजस्व संकलनमा ह्रास आएको र व्यापारिक क्षेत्र प्रभावित भएकोले कडाइ गरिएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि कडाइलाई आवश्यक कदम भन्दै, “नेपालकै सामान किनेर देशको व्यापार फस्टाउन सकोस् भन्ने उद्देश्यले नाका कडाइ गरिएको हो,” भने।
व्यवसायीहरूको मागअनुसार चालिएको यो कदमले केही उपभोक्तालाई असहज लाग्न सक्ने भए पनि राष्ट्रिय हितका लागि गरिएको अधिकारीहरूको भनाइ छ।

गत आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोडको लक्ष्य थियो, तर जम्मा १८ अर्ब १५ करोड मात्र राजस्व संकलन भएको थियो। त्यसैले चालु आव २०८१/८२ मा लक्ष्य घटाएर २७ अर्ब १८ करोडमा झारिएको छ। तर आठ महिनामा जम्मा ४६.५% मात्रै संकलन भइसकेको छ।
अब बाँकी महिनामा राजस्व लक्ष्य पूरा गर्नु नेपालगन्ज भन्सार कार्यालयका लागि ठूलो चुनौती हुने देखिन्छ।
