
कपिलवस्तु, ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि कपिलवस्तु जिल्लामा आयोजना हुने विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै छन्। माओवादी केन्द्रले सञ्चालन गरिरहेको “जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियान” अन्तर्गत प्रचण्डसहितका उच्चपदस्थ नेताहरू बिहीबार साँझ नै कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम तय भएको छ।
पार्टी स्रोतका अनुसार अध्यक्ष प्रचण्डको सार्वजनिक कार्यतालिका निकै व्यस्त रहनेछ। शुक्रबार बिहान ५:३० बजेबाट उनको दिनको सुरुवात हुनेछ। बिहान ७:०० बजेसम्म उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र .
नम्बर ४ देखि गजेहडासम्म ‘मर्निङ वाक’ गर्नेछन्। यस पैदल यात्राको उद्देश्य स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्नु र अभियानको महत्त्व जनताबीच प्रस्ट पार्नु रहेको बताइएको छ।
यसपछि बिहान ८:०० बजे शुद्धोधन गाउँपालिका–स्थित लबनीको कन्या विद्यालयमा आयोजना गरिएको विशेष कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ उनले स्थानीय शिक्षा क्षेत्रका विषयमा सम्बोधन गर्ने तथा अभिभावक, विद्यार्थी र शिक्षकसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।

कार्यतालिका अनुसार बिहान ९:३० बजे मायादेवी गाउँपालिका अन्तर्गत पकडीमा अर्को कार्यक्रम तय गरिएको छ। सो कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा आम सर्वसाधारणसँग भेटघाट तथा विचार आदानप्रदान हुने बताइएको छ।
त्यसपछि ११:०० बजे तौलिहवास्थित शंकर होटलमा आयोजना हुने कार्यक्रममा प्रचण्ड सर्वसाधारण, पत्रकार र पार्टीका स्थानीय नेतृत्वसँग विशेष छलफलमा सहभागी हुनेछन्। उक्त भेटघाट कार्यक्रममा हालको राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति र स्थानीय विकासका मुद्दामा केन्द्रित छलफल हुने जनाइएको छ।
दिउँसो १:०० बजे प्रचण्ड कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगञ्ज पुग्नेछन्, जहाँ “हुलाकी मार्ग अभियान” सम्बन्धी विशेष कार्यक्रम आयोजना गरिएको छ। सो अवसरमा केही नेताहरू पार्टी प्रवेश गर्ने कार्यक्रम पनि रहेको छ। साथै, शहीद परिवारसँग भेटघाट गर्दै उनले भावनात्मक सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र कपिलवस्तुले जनाएको छ।
माओवादी केन्द्रले देशव्यापी रूपमा सुरु गरेको “जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियान” पार्टीलाई पुनः जनस्तरमा बलियो बनाउने प्रयासको एक भाग हो। अभियान अन्तर्गत विभिन्न जिल्ला र समुदायमा पुगेर नेताहरूले स्थानीय जनताको प्रत्यक्ष भावना बुझ्ने, माग र समस्या सुन्ने तथा पार्टी नीति र कार्यक्रमहरू जनताबीच पुर्याउने उद्देश्य राखिएको छ।
