
काठमाडौँ — विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा २४ दिनदेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा परेको क्षतिपूर्ति गर्न हिउँदे, बर्खे तथा चाडपर्वका बिदा कटौती गर्ने प्रतिबद्धता जनाएका छन्।
नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा सडक संघर्ष गरिरहेका शिक्षकहरूले विद्यार्थीमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै क्षति पूर्तिको कार्य योजना तयार गरिरहेको बताएका छन्। नेपाल शिक्षक सङ्घ चाँगुनारायण नगरपालिकाका अध्यक्ष इन्जा बाँस्तोलाले विद्यार्थीमाथि अन्याय हुन नदिने र आवश्यक परे सडकमा नै कार्यशाला गरी शैक्षिक कार्ययोजना बनाउने बताए।

सरकारले शिक्षकका मागप्रति बेवास्ता गरेकाले आन्दोलनमा उत्रिनु परेको जनाउँदै शिक्षक नित्यराज अधिकारीले शिक्षा ऐन जारी भएपछि मात्रै समाधानको बाटो खुल्ने विश्वास व्यक्त गरे। ओखलढुङ्गाका शिक्षक नारायणप्रसाद बास्तोलाले विगतमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य भएको बताए।
नेपाल शिक्षक महासङ्घ दैलेख भैरवीका अध्यक्ष ललित सापकोटाले पञ्चायती मसीले लेखिएको पुरानो शिक्षा ऐनलाई निस्तेज गरी गणतान्त्रिक शिक्षा ऐन ल्याउनुपर्ने माग दोहोर्याए। संसद्को बजेट अधिवेशनबाट शिक्षा ऐन जारी हुने आशामा रहेका शिक्षकहरूको आन्दोलनले नयाँ वर्षको भर्ना, पाठ्यपुस्तक वितरणलगायत कार्यहरू प्रभावित भएका छन्।
